अष्ट्रेलियाले पाँचौ एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हरायो

106

ष्ट्रेलियाले पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको छ ।

दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनको विजयी लक्ष्य दिएको थियो । तर भारतीय टिम २३७ रनमै अलआउट भयो ।

अष्ट्रेलियाको जितमा ब्याट्सम्यान उस्मान ख्वाजा, पिटर ह्याण्ड्सकम्ब तथा स्पिनर एडम जम्पाको शानदार प्रदर्शन रह्यो ।

ख्वाजाको शतकीय तथा ह्याण्ड्सकम्बको अर्धशतकीय पारी रह्यो । त्यस्तै जम्पाले लिएको महत्वपूर्ण तीन विकेट पनि अष्ट्रेलियाको जितका लागि उल्लेखनीय रह्यो ।

चौथो एकदिवसीय खेलमा वान डे करियरमै उत्कृष्ट पारी खेलेका भारतीय ब्याट्सम्यान शिखर धवनले आज केवल १२ रन मात्रै बनाए । २५ ओभरमा १२० रन बनाएको अवस्थामा भारतले कप्तान विराट कोहली(२०), विकेटकीपर रिषभ पन्त(१६), विजय शंकर(१६) को विकेट गुमाइसकेको थियो । रोहित शर्मा भने लामो समय टिक्दै अर्धशतक बनाए ।

सम्हालिएर खेलेका रोहितले एकदिवसीय खेलमा ८ हजार रन पनि पूरा गरे । अर्धशतक बनाउन नै उनले ७३ बलको सामना गरेका थिए । रोहित ८९ बलमा ५६ रन बनाएर आउट भए ।

त्यसपछि ब्याटिङमा आएका रवीन्द्र जडेजाले खाता नै खोल्न सकेनन् । उनलाई जम्पाले आउट गरे ।

१३२ रनमा ६ विकेट गुमाइसकेको भारतीय टिमका लागि जितको सम्भावना लगभग समाप्त भैसकेको थियो । त्यसपछि केदार जाधव र भुवनेश्वर कुमार पिचमा जमे । उनीहरुले उत्कृष्ट पारी खेले । त्यसपछि यी दुई १३ ओभरसम्म जमे । उनीहरुले ९१ रनको साझेदारी गरे । ४६औँ ओभरको अन्तिम बलमा भुवनेश्वर कुमार(४६) मा र अर्को ओभरमा केदार जाधव(४४) मा आउट भएपछि भारतका लागि जितको आशा सकिएको थियो ।

अष्ट्रेलियाको बलियो सुरुवात: अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । सुरुवाति ३० ओभरमा अष्ट्रेलियाले मात्र एक विकेट गुमाउँदै १६१ रन बनाएको थियो । त्यसपछि भारतीय बलरहरुले अष्ट्रेलियाको ब्याटिङको गति रोकेका थिए ।

अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान एरोन फिन्च र उस्मान ख्वाजाले बलियो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि १४.३ ओभरमा ७६ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलरले विकेट लिन नसकेको अवस्थामा कोहलीले स्पिनर प्रयो गरे । रवीन्द्र जडेजाले एरोन फिन्चलाई पहिलो विकेटका रुपमा आउट गरे । फिन्चले ४३ बलमा २७ रन बनाए ।

त्यसपछि ख्वाजा र श्याड्सकम्ब सम्हालिएर खेले र शानदार साझेदारी गरे ।

ख्वाजाले ३२ औँ ओभरमा आफ्नो करियर तथा यो सिरिजमा दोस्रो एकदिवसीय शतक प्रहार गरे । ह्याण्ड्सकम्बले पनि ६२ बलमा ५२ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमारले तीन विकेट लिए । त्यस्तै मोहम्मद शमी र रवीन्द्र जडेजाले २–२ तथा कुलदीप यादव र जसप्रीत बुमराहले एक–एक विकेट लिए ।

सन् २००९ पछि भारतमा पहिलो पटक अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जितेको हो । यो जितसँगै विश्वकपभन्दा अगाडि अष्ट्रेलियाली क्रिकेट टिमले आफूलो बलियो सावित गरेको छ । एकदिवसीय शृङ्खलाको इतिहासमा अष्ट्रेलियाले केवल चार पटक मात्रै २–० ले पछि परेको अवस्थामा सिरिज आफ्नो पक्षमा पारेको छ ।

Please Leave your a Comments
Loading...